प्रधानमन्त्री पुष्पकमल दाहाल सकेसम्म रास्वपालाई सरकारमा फर्काएर ल्याउने मनस्थितिमा छन् । चितवन–२ मा निर्वाचित भएपछि रास्वपा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने अभिव्यक्ति दिएका थिए । लगत्तै प्रधानमन्त्री दाहालले यसबारे लामिछानेसँग टेलिफोन संवाद गरेका थिए । ‘प्रधानमन्त्री र रविजीबीच कुराकानी भइसकेको छ । प्रधानमन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे तपाईंले बोलेको कुरा के हो भनेर सोध्नुभएको थियो । रविजीले समर्थन फिर्ता लिँदैनौं, हामी गठबन्धनमा छौं भन्नुभयो,’ बालुवाटार स्रोतले भन्यो ।
उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार हराउँदै चितवन–२ र तनहुँ–१ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उपेक्षा गरेर अघि बढ्न सत्तारूढ ठूला दल दबाबमा परेका छन् । सहभागी हुने विषयमा रास्वपाका मुख्य तीन चासो छन् । लामिछानेनिकट एक नेताका अनुसार रास्वपाले दाहाल नेतृत्वको सरकारको निरन्तरता के हुने हो भन्ने सुनिश्चितता खोजिरहेको छ । ‘सरकार दुई वर्षजति टिक्छ भन्ने राजनीतिक आधार भए जाने वातावरण बन्ला । हामी जाने सरकार नटिक्ने अवस्था आयो भने त्यसले राम्रो गर्दैन । यसमाथि हाम्रो नजर छ,’ ती नेताले भने । सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन र पुरानै मन्त्रालय पाए सरकारमा जान सकिने रास्वपा नेताहरूको संकेत छ । सरकारबाट बाहिरिनुअघि रास्वपाले उपप्रधानसहित गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएको थियो । सरकारबाट बाहिरिएपछि हाल गृहमा माओवादीका, शिक्षामा जसपाका र श्रममा लोसपाका मन्त्री छन् ।
रास्वपा महामन्त्री मुकुल ढकालले विश्वासको वातावरण, काम देखाउन सकिने मन्त्रालय र स्वायत्त ढंगले काम देखाउने अवस्थामा सरकारमा जान सकिने भए पनि पार्टीले निर्णय गरिनसकेको बताए । ‘अस्थिर सरकारमा गएर काम गर्न सकिँदैन, त्यसैले स्थिर सरकार रहने अवस्था भए सरकारमा जान सकिने अवस्था बन्छ,’ उनले भने, ‘हामी सरकारमा गएरै काम देखाउन चाहन्छौं ।’ पार्टी नीतिअनुसार गलत काम गर्ने जुनसुकै दलका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने वातावरण पनि हुनुपर्ने अर्को सर्त भएको उनले बताए ।