753 Share
बैशाख १३ – ठूलो दलको हैसियतमा नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसले अडान र कसरत गर्दा नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मत नदिनेसम्मको चेतावनी दिन भ्याए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते शनिबार ढलेपछि कांग्रेस उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त हुनुपर्ने तर्क गर्दै काठमाडौंसम्म पुगेको छ ।
दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आहृवान गर्दा शीर्ष तहमै गण्डकीमा आलोपालो गर्ने समझदारी गराएको माओवादीले दाबी गर्न सक्ने भय कांग्रेसमा थियो । त्यसैले माओवादीलाई पहिलो चरणमा मुख्यमन्त्री हुन रोक्नकै लागि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेसहित सबैजसो कांग्रेस सांसद सभापति शेरबहादुर देउवादेखि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसम्मलाई भेट्न काठमाडौं पुगे । ११ गते सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले गण्डकीमा कांग्रेसलाई पहिलो चरणमा मुख्यमन्त्री दिने आश्वासन दिएपछि सुरेन्द्रसहित अधिकांश कांग्रेस सांसद फर्किइसकेका छन् ।
उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आहृवान गर्ने कि ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्नेमा स्वयं प्रदेश प्रमुख पृथ्वीमान गुरुङ पनि अन्योलमा थिए ।
९ गते सरकार ढाल्ने अगावै यही परामर्शका लागि काठमाडौं पुगेका प्रदेश प्रमुख गुरुङले पोखरा फर्केर पनि कानुनी परामर्श गरे र मंगलबार बल्ल नयाँ सरकार गठनका लागि आहृवान गरेका छन् । उपधारा २ बमोजिम बहुमतको सरकार बनाउन बिहीबार दिनको ४ बजेसम्मको समय दिएर प्रदेश प्रमुखले आह्वान गरेका छन् । तर, सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीबीच भने अझै गाँठो फुकिसकेको छैन ।
तनहुँ-१ को चुनावलाई देखाउँदै गत वैशाख ३ गते माओवादी नेता हरिबहादुर चुमानको नेतृत्वमा काठमाडौं पुगेको टोलीले कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र प्रधानमन्त्री प्रचण्ड, माओवादी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेसहितको छलफलमा सौदाबाजी गरेको थियो ।
चुनावको मुखमा दबावमा परेको कांग्रेसले त्यही बेला औपचारिक रुपमा गण्डकीमा कांग्रेस-माओवादी आलोपालो गर्ने समझदारी गरेको हो । तर, गण्डकीको सरकार ढलेलगत्तै तनहुँ-१ को निर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले हारेपछि प्रधानमन्त्री प्रचण्ड स्वयंले गण्डकीमा पहिलो चरणमा कांग्रेसले नेतृत्व गर्ने बताएका थिए ।
यसै भन्न सकिने अवस्था नभएको जानकार हरु बताउन थालेका छन । परिस्थिति गम्भीर भै गठबन्धनमा समेत दरार ल्याउन सक्ने देखिएको छ ।
Post Views: 3