२७ असोज दाङ । दाङमा नक्कली सरकारी कर्मचारी बनेका २ लाई प्रहरीले पक्राउ गरेको छ । दाङ प्रहरीका अनुसार कृषि अनुदानको कार्यक्रममार्फत ट्र्याक्टर, भैँसीपालन तथा गोठ सुधारको सुविधा दिलाइदिने प्रलोभन देखाएर ११ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–५ बलापुरका नवीन यादव र सल्यान घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने काशीराम बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार नवीन यादवले आफू कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको तुलसीपुर शाखा कार्यालयमा प्रशासकीय अधिकृत रहेको बताउँदै मकै जोन कृषि कार्यक्रममार्फत ट्र्याक्टर, भैँसीपालन तथा गोठ सुधारको कार्यक्रम ल्याएको भन्दै प्रलोभन देखाएका थिए।सोही प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट मालिका साइबर फोन पे र मालिका कम्युनिकेसनका सञ्चालकसमेतको संलग्नतामा ११ लाख ५४ हजार ७३२ रुपैयाँ ठगी गरेको भन्दै जाहेरी परेको प्रहरीले जनाएको छ।उक्त घटनामा संलग्न रहेको आरोपमा फरार रहेका दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो।