१६ वर्षीय किशोर अपहरण गरी कुटपिट, पाँच जना पक्राउ

१६ वर्षीय किशोर अपहरण गरी कुटपिट, पाँच जना पक्राउ

२७ असोज कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा १६ वर्षीय किशोरलाई जबर्जस्ती जंगलमा लगेर खुकुरी देखाउँदै ज्यान मार्ने धम्की दिएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–९ रतनपुरका ती किशोरलाई असोज २३ गते दिउँसो करिब ४ बजे ‘एकछिन काम छ’ भन्दै केही किशोरले जबर्जस्ती स्कुटरमा राखेर खजुवा जंगल लगेका थिए ।जंगलमा पुरानो रिसइबीका कारण किशोरलाई बन्धक बनाएर कुटपिट गर्नुका साथै खुकुरी देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी भिडियोसमेत सार्वजनिक भएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोप लागेका २४ वर्षीय लक्ष्मण भण्डारी भने फरार रहेको प्रहरीले जनाएको छ ।