खगेन्द्र सुनारमाथि पार्टीको आन्तरिक छानबिन सुरु

खगेन्द्र सुनारमाथि पार्टीको आन्तरिक छानबिन सुरु

२७ असोज काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्दै सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ ।रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेका आरोपको विषयमा आन्तरिक छानबिन सुरु गरिएको बताइएको हो । सञ्चारमाध्यममार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषयहरूमा पार्टीको गम्भीर ध्यान गएको विज्ञप्तिमा उल्लेख छ ।

‘घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन निष्कर्षमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।’