मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि

मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि

२१ असोज काठमाडौं। अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ। अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने तयारीमा रहेका मेसीलाई विश्वविद्यालयले सम्मान गरेको हो।अर्जेन्टिना फुटबल संघ एएफएले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मेसीलाई विश्वविद्यालयले ‘डक्टर होनोरिस काउसा’ उपाधि प्रदान गरेको जानकारी दिएको छ।मेसीले सेप्टेम्बर १ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका थिए। उनले मंगलबार घरेलु मैदानमा बेनिनविरुद्धको खेलबाट अर्जेन्टिनाको राष्ट्रिय टोलीका रूपमा अन्तिम खेल पनि खेलेका छन्। उक्त खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक विदाइ पनि गरिएको छ।अर्जेन्टिनाका कप्तान मेसी आफ्नो देशका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

उनले राष्ट्रिय टोलीबाट २०३ खेलमा १२४ गोल गरेका छन्। उनी दक्षिण अमेरिकी फुटबल इतिहासमा पनि सर्वाधिक गोलकर्ता हुन्।सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप जित्नु मेसीको करियरको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये एक हो। फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो। त्यो अर्जेन्टिनाको तेस्रो विश्वकप उपाधि थियो। त्यसअघि सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका मेसीले सन् २०२४ मा पनि टोलीलाई कोपा अमेरिका च्याम्पियन बनाउन योगदान दिएका थिए।