१९ असोज बर्दिया । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशका जिल्लाहरूमा वडा अधिवेशनलाई तीव्र पारेको छ ।केन्द्रले तोकेको कार्यतालिकाअनुसार लुम्बिनीका विभिन्न जिल्लामा वडा अधिवेशन भइरहेको देउवा पक्षका लुम्बिनी प्रदेश नेता गेहेन्द्र गिरीले बताएका छन् ।
अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी रहेका वडाहरूमा पनि सोमबार साँझसम्म सक्ने गरी नेता तथा प्रतिनिधिहरू खटाइएको गिरीले जानकारी दिए ।लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्युठानमा वडा अधिवेशन पूर्ण रूपमा सम्पन्न भई पालिका अधिवेशनसमेत सकिएको छ । अन्य जिल्लामा पनि वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ ।देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्दै आन्तरिक तयारीलाई तीव्र बनाएको छ । सोही योजनाअनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला संयोजक तोकेर संगठनात्मक गतिविधि अघि बढाइएको छ ।