१९ असोज बर्दिया । कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँके र बर्दिया जिल्लामा रहेका शाखाअन्तर्गतका सहायक कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रशिक्षणका क्रममा लघुवित्तको परिचय, इतिहास तथा वर्तमान अवस्था, उद्देश्य र आवश्यकता, सदस्य पहिचान तथा केन्द्र निर्माण, केन्द्र बैठक सञ्चालन तथा व्यवस्थापन, कर्जा लगानी र कर्जा असुलीलगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो।विशेषगरी कर्जा मागको विश्लेषण तथा परियोजना भ्रमण, कर्जा सदुपयोगिता निरीक्षण, नियमित असुली प्रक्रिया, ताकेता तथा कानुनी कारबाहीको सिफारिस, बीमा तथा निःक्षेपमा दाबी प्रक्रिया र असल ग्राहक व्यवस्थापन सम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रशिक्षणमा समेटिएको थियो।त्यस्तै कर्मचारीको संस्थागत तथा वित्तीय अनुशासन, कर्मचारी आचारसंहिता, क्याम्पेन तथा ३ जिरो क्लव लगायतका विषयमा समेत जानकारी दिइएको थियो।कार्यक्रममा सहभागी कर्मचारीहरूले शाखा तथा केन्द्रस्तरमा देखिने व्यावहारिक समस्या, कर्जा लगानी तथा असुली प्रक्रिया र सदस्य व्यवस्थापनका विषयमा जिज्ञासा राखेका थिए।
सम्बन्धित विभाग तथा प्रदेशस्तरका प्रमुखहरूले कर्मचारीका जिज्ञासाको समाधान गर्दै कार्यक्षेत्रमा प्रभावकारी रूपमा काम गर्न आवश्यक सुझाव तथा मार्गदर्शन दिएका थिए।
कार्यक्रमले विशेषगरी सहायक कर्मचारीहरूको व्यावहारिक ज्ञान, कर्जा व्यवस्थापन तथा असुली क्षमता अभिवृद्धि गर्नुका साथै शाखाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।सहभागीहरूलाई प्राप्त ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्दै संस्थाको लक्ष्य प्राप्तिमा योगदान गर्न आग्रह गरिएको थियो। प्रशिक्षणमा सहभागी कर्मचारीहरूले कार्यक्रम उपयोगी तथा कार्यक्षेत्रमा प्रत्यक्ष रूपमा लागू गर्न सकिने खालको रहेको बताएका छन्।संस्थाको केन्द्रीय कार्यालय कर्जा असुली विभाग प्रमुख ऋषि राज परियार, लुम्बिनी प्रदेश प्रमुख दीपक भट्ट लगायत बाँके र बर्दियामा रहेका विभिन्न शाखाका सहायक कर्मचारीहरूको सहभागिता रहेको थियो।