सल्यानमा ८ थान भरुवा बन्दुक भेटियो

सल्यानमा ८ थान भरुवा बन्दुक भेटियो

१६ असोज सल्यान । सल्यानमा ८ थान भरुवा बन्दुक फेला परेको छ ।सामुदायिक वन र ओढारमा लुकाइराखिएका भरुवा बन्दुक धमाधम फेला पर्न थालेका छन् । पछिल्लो पटक प्रहरीले बन्गाड कुपिण्डे नगरपालिकाका दुई सामुदायिक वनबाट ८ थान भरुवा बन्दुक बरामद गरेको छ ।प्रहरीले बिहीबार बिहान बन्गाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वन र वडा नम्बर १२ निगालचुलास्थित भदाले सामुदायिक वनका ओढारमा लुकाइराखिएका चार–चार थान गरी आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।

जेठमा मात्रै प्रहरीले बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी आठ थान भरुवा बन्दुक बरामद गरेको थियो ।त्यसपछि साउनमा पनि बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनबाट ४ र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट २ गरी ६ थान भरुवा बन्दुक बरामद भएका थिए । भदौमा भदाले सामुदायिक वन नजिकैको ओढारबाट थप ७ थान भरुवा बन्दुक बरामद भएका थिए ।