पेन्सन पट्टा सुपरहिट

पेन्सन पट्टा  सुपरहिट

१२ असोज काठमान्डौं । माओत्से गुरूङ निर्देशित फिल्म पेन्सन पट्टाुले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फिल्मको ग्रस कमाइ ७ करोड रूपैयाँ नाघेको छ।बोर्डले सोमबार सार्वजनिक गरेको आइतबारसम्मको विवरणअनुसार पेन्सन पट्टाले ७ करोड १ लाख ४१ हजार रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त कमाइका लागि फिल्मका २ लाख ४४ हजार ८४२ वटा टिकट बिक्री भएका छन्।

क्यूएफएक्सले आफ्ना सिनेमा घरमा पहिलो साता १ करोड ५० लाख रूपैयाँ र दुई सातामा २ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने फिल्मलाई ‘सुपरहिट’ घोषणा गर्ने गरेको छ। यस आधारमा ‘पेन्सन पट्टा’ले दुई साता पूरा नहुँदै क्यूएफएक्सका हलबाट मात्रै २ करोड ५० लाख रूपैयाँभन्दा बढी कमाइ गरेको देखिन्छ।फिल्म अहिले भने तेस्रो सातामा प्रदर्शनरत छ।फिल्ममा दयाहाङ राई, गौमाया गुरूङ, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायत कलाकारको अभिनय छ।