कर्णालीका यी जिल्लामा मुख्य राजमार्ग अवरुद्ध

कर्णालीका यी जिल्लामा मुख्य राजमार्ग अवरुद्ध

१० असोज काठमान्डौ । पहिरोका कारण कर्णाली प्रदेशका ६ जिल्लाका सडक अवरुद्ध भएका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबारदेखि परेको अविरल वर्षाका कारण कालीकोटको शुभकालिका– १, गगनेखोलामा आएको पहिरोले कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । सुर्खेतको बराहताल गाउँपालिका– ७, अम्रिसेमा पनि पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध छ ।यस्तै, कर्णाली राजमार्गअन्तर्गत जुम्लाको तातोपानी– १ स्थित राँका सडकखण्डमा खसेको पहिरोले सडक अवरुद्ध छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार रकुम पश्चिमको सानिभेरी गाउँपालिका– २ स्थित सम्लेखालामा आएको पहिरोले पुष्पलाल मध्यपहाडी राजमार्ग अवरुद्ध बनेको छ ।उनका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका– १, खच्चामा पहिरोका कारण कर्णाली कोरिडोर बन्द भएको छ । यस्तै, सल्यानको कपुरकोट गाउँपालिका– ५ खारखोलामा आएको पहिरोले राप्ति राजमार्ग बन्द छ । सल्यानकै वनगाड कुपिण्डे नगरपालिका– ८ मा सडक माथिबाट आएको पहिरोले सुर्खेत–सल्यान सडक अवरुद्ध छ भने, त्रिवेणी गाउँपालिका– ३, ढुंगेबगरमा लुहाम–कालिमाटी सडक पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।