५ असोज काठमान्डौ । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बहुप्रतीक्षित फिल्म ‘जेलर २’को कलाकार सूचीमा बलिउड अभिनेत्री विद्या बालन थपिएकी छन् । निर्माण टिमले फिल्ममा रहेको विद्याको भूमिकाको पहिलो झलक भिडियोमार्फत सार्वजनिक गर्दै उनको अभिनय रहेको जानकारी दिएको हो । निर्माण युनिटले फिल्मका मुख्य कलाकारहरूको नाम क्रमशः सार्वजनिक गर्ने क्रममा विद्यालाई ‘कांथा’को रूपमा चिनाएको हो ।सार्वजनिक भिडियोमा विद्या नीलो साडी र कालो ब्लाउजमा देखिएकी छन् ।

हातमा चुरोट च्यापेर सिँढीबाट ओर्लिँदै कोठामा प्रवेश गरेको दृश्यमा उनको हाउभाउ निकै गम्भीर र प्रभावशाली देखिन्छ । भिडियोले ‘कांथा’को भूमिका कुनै कमजोर वा सामान्य नभएर निकै शक्तिशाली र आक्रामक रहेको स्पष्ट संकेत गर्छ ।निर्माण पक्षले उनको चरित्रबारे विस्तृत जानकारी नदिए पनि भारतीय सञ्चारमाध्यमहरूका अनुसार विद्याले फिल्ममा अभिनेता मिथुन चक्रवर्तीको जेठी छोरीको भूमिका निर्वाह गर्नेछिन् । यस सिक्वेलमा मिथुन मुख्य खलनायक भिलेनको भूमिकामा रहने र रजनीकान्तसँग उनको टकराव देखाइने बताइएको छ ।