कैलालीबाट तीन जना पक्राउ

कैलालीबाट तीन जना पक्राउ

२६ भदौ कैलाली । कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका–७ स्थित जनआवाज चोक नजिकबाट ६६० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुवास राना पक्राउ परेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले  चेकजाँच गर्दा ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

यस्तै, टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ९४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजारका १८ वर्षीय र १७ वर्षीय किशोर रहेका छन् । उनीहरूलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले बिहीबार साँझ पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो ।