१६ भदौ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बहुमतका अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला कञ्चन निष्काषित भएका छन् ।आन्तरिक विवाद उत्कर्षमा पुगेपछिपार्टीको केन्द्रीय समितिको विशेष जुम बैठकले संयोजक तथा अध्यक्ष मण्डलका अध्यक्ष कञ्चनलाई बर्खास्त गरेको हो ।भदौ १५ गते बसेको केन्द्रीय समितिको विशेष बैठकले बास्तोलालाई अध्यक्ष मण्डलको अध्यक्ष र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष मण्डलका सदस्य तथा पार्टी प्रवक्ता दीपकलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ । असोज ५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
पार्टीद्वारा जारी प्रेसवक्तव्यमा बास्तोलाले स्वेच्छाचारी, सांगठनिक अराजकता र अनैतिक हर्कत गरेको आरोप लगाइएको छ। पार्टीको राष्ट्रिय सम्मेलन एकल निर्णयबाट स्थगित गर्न खोजेको, फरक दस्तावेज अस्वीकार गरेको तथा सैद्धान्तिक र वैचारिक बहसबाट पन्छिएको आरोप उनीमाथि लगाइएको छ। लामो समयदेखि उनमा गैरमार्क्सवादी तथा पार्टी अनुशासन उल्लङ्घनका गतिविधि देखिएको र पार्टीभित्र अल्पमतमा पर्दै आएको दाबी गरिएको छ।उनको कारबाहीमा पार्टीका विभिन्न १२ वटा जबस तथा मोर्चा संगठनको पनि सहमति रहेको बताइएको छ ।