११ भदौ चितवन । बाढीमा परी मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तिब्बतबाट भीषण पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान थालिएको थियो ।अनुसन्धानका क्रममा भिडियोमा देखिएका व्यक्तिहरूलाई प्रहरीले बिहीबार भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।उनीहरूलाई मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।