चलचित्र ‘गौँथली’ले कमायो २५ करोडभन्दा धेरै

चलचित्र ‘गौँथली’ले कमायो २५ करोडभन्दा धेरै

८ भदौ काठमाडौं । बक्सअफिसमा ब्लकबस्टर चलचित्र ‘गौँथली’ले हालसम्म साढे २५ करोडभन्दा धेरै रुपैयाँ ग्रसकलेक्सन गरेको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आइतबारसम्म २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।आइतबारसम्म यो चलचित्र नौ लाख नौ हजार ४२६ जना दर्शकले हेरेका चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकमा उल्लेख छ ।

यो चलचित्र नेपाली सिनेमा उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने सिनेमाको सूचीमा दोस्रो स्थानमा आइपुगेको छ । ‘कबड्डी–४’को नाममा रहेको दोस्रो स्थानको रेकर्ड यो चलचित्रले उछिनेको हो । पहिलो स्थानमा ‘पूर्ण बहादुरको सारङ्गी’ छ ।डा.कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।