७ भदौ काठमान्र्डौ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल र फाइनलमा खेलाडीहरुले अनुशासन विपरीतका क्रियाकलाप गरेको विषयमा फिफाले टोली, प्रशिक्षक र खेलाडीहरूलाई कारबाही गरेको हो।अर्जेन्टिना फुटबल संघ एएफए लाई फिफाको अनुशासन संहिता उल्लंघन गरेको भन्दै ३ लाख २१ हजार डलर जरिवाना गरिएको बिबिसीले जनाएको छ।
गैरखेलकुद गतिविधिका लागि खेलकुद कार्यक्रम प्रयोग गरेको, टोलीको अनुशासन उल्लंघन गरेको तथा समर्थकहरूले भेदभावपूर्ण नारा र हाउभाउ गरेको आरोपमा यो कारबाही गरिएको भनिएको छ।जरिवानामध्ये १ लाख डलर भेदभावविरुद्धको कार्यक्रम सञ्चालनमा खर्च गर्नुपर्नेछ। अर्को १ लाख डलरको जरिवाना भने निलम्बित गरिएको छ र त्यसका लागि परीक्षण अवधि लागू हुनेछ।
फिफाले अर्जेन्टिनालाई आफ्नै मैदानमा खेलिने आगामी दुई अन्तर्राष्ट्रिय खेलमा ५० प्रतिशत क्षमतामा मात्र दर्शक प्रवेश गराउन पनि आदेश दिएको छ। यद्यपि त्यसमध्ये एउटा खेलको प्रतिबन्ध हाललाई निलम्बित गरिएको बिबिसीले जनाएको छ।फाइनलमा पराजित भएपछि स्पेनका खेलाडीहरूमाथि भएको कुटपिटमा पनि फिफाले अर्जेन्टिनी खेलाडी र प्रशिक्षकलाई कारबाही गरेको छ।अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेडेसलाई फिफाले १० खेलको प्रतिबन्ध लगाएको छ।अर्जेन्टिनाका अर्का खेलाडी नाहुएल मोलिनालाई पनि सात खेलको प्रतिबन्ध लगाएको छ। दुवै खेलाडीलाई ९०- ९० हजार डलर जरिवाना पनि तोकिएको बिबिसी स्पोर्ट्सले जनाएको छ।पारेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेका थिए भने गाभीलाई भुइँमा लडाएका थिए।त्यसपछि उनले गाभीको अनुहारमा प्रहार गरेको देखिएको थियो। गाभीले भने पारेडेसलाई कारबाही गर्न नहुने बताएका थिए।
गाभीलाई पनि घटनामा संलग्न भएको भन्दै एक खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ। अर्जेन्टिनाका थियागो अल्माडामाथि पनि समान कारबाही भएको छ।अर्जेन्टिनाका प्रशिक्षक टोलीका सदस्य रोबर्टो अयालालाई स्पेनका डानी ओल्मोको अनुहारमा प्रहार गरेको भन्दै तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ।फिफाले लगाएको खेल प्रतिबन्ध अन्तर्राष्ट्रिय खेलमा मात्र लागू हुनेछ।