२ भदौं काठमाडौं। श्रीलंकाका चिकित्सकहरूले एक पुरुषको मूत्रथैलीबाट ३.१ किलोग्राम तौलको ढुंगा शल्यक्रिया मार्फत निकालेका छन्।चिकित्सकहरूले यो अहिलेसम्मकै ठूलो ढुंगा भएको दाबी गरेका छन्। श्रीलंकाको पूर्वी क्षेत्रमा पर्ने त्रिन्कोमालीस्थित अस्पतालमा गत साता ५५ वर्षीय पुरुषको शल्यक्रिया गरी उक्त ढुंगा निकालिएको हो।स्ट्रोक भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा उनलाई पिसाब फेर्न समस्या भइरहेको देखिएपछि चिकित्सकहरूले परीक्षण गर्दा मूत्रथैलीमा ढुंगा रहेको पत्ता लगाएका थिए।शल्यक्रियाका क्रममा निकालिएको ढुंगाको तौल पूरा विकसित शिशुको जत्तिकै थियो भने आकार स्ट्रिचको अण्डाजत्रो रहेको बताइएको छ।शल्यक्रियाको नेतृत्व गरेका डा. प्रहलाहन बालकृष्णनले बीबीसी सिंहलालाई भने, ‘उपलब्ध अभिलेखअनुसार शल्यक्रियामार्फत निकालिएको यो अहिलेसम्मकै ठूलो मूत्रथैलीको ढुंगा हो।’उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था अहिले ‘धेरै राम्रो’ छ। उनी अन्य स्वास्थ्य समस्याको उपचारका लागि अस्पतालमै रहेका छन्।डा. बालकृष्णनका अनुसार उक्त ढुंगा बिरामीको मूत्रथैलीमा करिब ५ देखि १० वर्षसम्म रहेको हुन सक्ने अनुमान गरिएको छ।मूत्रमा रहेका खनिज पदार्थ क्रिस्टलमा परिणत हुँदै ठोस डल्लो बनेपछि मूत्रथैलीमा ढुंगा बन्ने गर्छ।बालुवाको कणजत्रा साना ढुंगा आफैँ पिसाबसँगै बाहिर निस्कन सक्छन्।
तर १ सेन्टिमिटरभन्दा ठूला ढुंगाले पिसाबको प्रवाह रोक्न सक्ने भएकाले चिकित्सकीय उपचार आवश्यक पर्न सक्छ। ४ सेन्टिमिटरभन्दा ठूलो मूत्रथैलीको ढुंगालाई विशाल ढुंगा मानिन्छ।गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार यसअघि सन् २००३ मा ब्राजिलका एक बिरामीको मूत्रथैलीबाट निकालिएको १.९ किलोग्राम तौलको ढुंगा सबैभन्दा ठूलो मूत्रथैलीको ढुंगाका रूपमा अभिलेखित थियो। उक्त ढुंगा १७.९ सेन्टिमिटर लामो थियो।तर श्रीलंकामा गत साता निकालिएको ढुंगा करिब १७ सेन्टिमिटर लामो रहेको चिकित्सकहरूले बताएका छन्।