रमेश थापा
परिचय – हात्ती पृथ्वीमा जीवित रहेका सबैभन्दा ठूलो स्थलीय स्तनधारी प्राणी हो।यो वन पारिस्थितिकीय प्रणालीको छाता प्रजाति अर्थात् आधारभूत प्रजातिका रूपमा चिनिन्छ। हात्तीको उपस्थितिले वनको संरचना, जैविक विविधता, जलस्रोत संरक्षण तथा अन्य वन्यजन्तुको अस्तित्वमा प्रत्यक्ष प्रभाव पार्दछ। यसले बीउ फैलाउने, झाडी नियन्त्रण गर्ने, वनमार्ग निर्माण गर्ने तथा प्राकृतिक घाँसे मैदानको संरक्षण गर्ने भएकाले यसलाई “वनको इन्जिनियर” पनि भनिन्छ।
नेपालमा पाइने एसियाली हात्ती जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण तथा संकटापन्न वन्यजन्तु हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले यसलाई संकटापन्न सूचीमा राखेको छ भने CITES को अनुसूची-१ मा समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार यो पूर्ण रूपमा संरक्षित वन्यजन्तु हो।
हात्तीको उत्पत्ति
वैज्ञानिक अनुसन्धानअनुसार हात्तीको विकासक्रम करिब ५५-६० मिलियन (५.५-६ करोड) वर्षअघि प्रारम्भ भएको मानिन्छ। यसको प्रारम्भिक पूर्वज Moeritherium अफ्रिकामा विकसित भएको थियो, जुन आकारमा आजको सुँगुर वा सानो हिप्पोपोटामस जत्रो थियो।त्यसपछि विकासक्रममा Palaeomastodon, Gomphotherium, Stegodon हुँदै आधुनिक हात्ती (Elephas र Loxodonta) विकसित भए।हिमयुगपछि अधिकांश प्राचीन हात्तीका प्रजातिहरू, विशेषगरी म्यामथ (Mammuthus) र मास्टोडन (Mammut), विलुप्त भए। हाल विश्वमा केवल दुई वंशका तीन जीवित प्रजाति मात्र बाँकी छन्।
हात्तीका प्रजाति
हाल विश्वमा जीवित रहेका हात्तीका तीन प्रजाति छन्।
१. एसियाली हात्ती (Elephas maximus)
एसियाका नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया, इन्डोनेसिया लगायत १३ देशमा पाइन्छ। यसको कान सानो, ढाड अलि उठेको तथा केवल केही पोथीमा मात्र साना दाह्रा हुन्छन्।
२. अफ्रिकी साभाना हात्ती (Loxodonta africana)
यो विश्वकै सबैभन्दा ठूलो स्थलीय जनावर हो। अफ्रिकाका खुला घाँसे मैदान र साभानामा पाइने यस प्रजातिका भाले तथा पोथी दुवैमा ठूला दाह्रा हुन्छन्।
३. अफ्रिकी वन हात्ती (Loxodonta cyclotis)
मध्य तथा पश्चिम अफ्रिकाका घना वर्षावनमा पाइने यो प्रजाति आकारमा सानो तथा सीधा दाह्रा भएको हुन्छ। आनुवंशिक अध्ययनले यसलाई छुट्टै प्रजाति मानेको छ।
एसियाली हात्तीको परिचय
एसियाली हात्ती सामाजिक, बुद्धिमान तथा दीर्घायु स्तनधारी हो। यसको औसत आयु ६०-७० वर्षसम्म हुन्छ। हात्तीको समूहको नेतृत्व अनुभवी पोथी (Matriarch) ले गर्छ।एउटा समूहमा सामान्यतः ८-२० सदस्य हुन्छन् भने वयस्क भाले प्रायः एक्लै वा सानो समूहमा बस्ने गर्छन्।
एसियाली हात्ती शाकाहारी प्राणी हो। यसले दैनिक १५०-२०० किलोग्रामसम्म घाँस, पात, बोक्रा, फलफूल, बाँस तथा अन्य वनस्पति खाने गर्दछ। दैनिक १००-२०० लिटरसम्म पानी आवश्यक पर्छ। यसको सुँड करिब ४० हजारभन्दा बढी मांसपेशीबाट बनेको हुन्छ, जसले खाना टिप्न, पानी पिउन, वस्तु उठाउन, सञ्चार गर्न तथा आत्मरक्षा गर्न सहयोग पुर्याउँछ।
हात्तीको स्मरणशक्ति अत्यन्त तीव्र हुन्छ। यसले ध्वनि, कम्पन तथा गन्धमार्फत लामो दूरीसम्म सञ्चार गर्न सक्छ। यसको सामाजिक सम्बन्ध बलियो हुने भएकाले परिवारका सदस्यको मृत्युमा शोकसमेत व्यक्त गर्ने व्यवहार वैज्ञानिक अध्ययनले देखाएका छन्।
नेपालमा एसियाली हात्तीको वितरण
नेपालमा एसियाली हात्ती मुख्यतः तराई र भित्री मधेसका वन क्षेत्रमा पाइन्छ। यसको वितरण पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म फैलिएको छ। हाल हात्ती तराई र भित्री मधेसका २४ जिल्लामा नियमित वा मौसमी रूपमा विचरण गर्ने गरेको अभिलेख छ।
मुख्य बासस्थानहरूमा कोशी टप्पु क्षेत्र, झापा-इलामको चारकोसे वन, चितवन-पर्सा कम्प्लेक्स, बारा-रौतहट वन, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सामुदायिक वनहरू पर्दछन्।
नेपालका हात्तीमध्ये केही स्थायी रूपमा बसोबास गर्ने (Resident Population) हुन् भने ठूलो संख्या भारतसँग सीमा जोडिएका वन क्षेत्रबीच आवतजावत गर्ने (Transboundary Population) हुन्। त्यसैले नेपाल-भारत सीमा क्षेत्र हात्ती संरक्षणका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
सरकारी अभिलेखमा नेपालमा जंगली एसियाली हात्तीको संख्या २२७ उल्लेख गरिएको भए पनि पछिल्ला वर्षहरूमा विभिन्न वन कार्यालय, संरक्षणकर्मी तथा क्षेत्रीय अवलोकनका आधारमा यसको संख्या करिब ३२० पुगेको अनुमान गरिएको छ। यद्यपि यो अनुमानलाई वैज्ञानिक जनगणनाबाट नियमित रूपमा पुष्टि गरिनु आवश्यक छ।
नेपालमा हात्ती संरक्षणका प्रमुख चुनौती
१. बासस्थान विनाश तथा खण्डीकरण
वन फँडानी, सडक, रेलमार्ग, विद्युत् प्रसारण लाइन, मानव बस्ती विस्तार तथा कृषि विस्तारका कारण हात्तीको प्राकृतिक बासस्थान निरन्तर घटिरहेको छ। वनहरू टुक्राटुक्रा हुँदा हात्तीको परम्परागत आवागमन मार्ग (Elephant Corridor) अवरुद्ध भएको छ।
२. मानव–हात्ती द्वन्द्व
नेपालमा सबैभन्दा गम्भीर समस्या मानव-हात्ती द्वन्द्व हो। हात्तीले बाली नष्ट गर्ने, घर भत्काउने तथा कहिलेकाहीँ मानवको मृत्यु गराउने घटनाहरू भइरहेका छन्। त्यसैगरी प्रतिशोधस्वरूप हात्ती मारिने, विद्युतीय धराप, विष तथा अन्य अवैध उपाय प्रयोग हुने गरेका छन्।
३. सीमापार व्यवस्थापनको चुनौती
नेपाल र भारतबीच हात्ती स्वतन्त्र रूपमा आवतजावत गर्ने भएकाले एउटै देशको प्रयास मात्र पर्याप्त हुँदैन। सीमापार समन्वय कमजोर हुँदा संरक्षण कार्य प्रभावित हुने गरेको छ।
४. जलवायु परिवर्तन
तापक्रम वृद्धि, वर्षाको अनियमितता तथा पानीका स्रोत सुक्दै जाँदा हात्ती नयाँ क्षेत्रमा जान बाध्य हुन्छ, जसले मानवसँगको सम्पर्क बढाउँछ।
५. अवैध सिकार र दाह्राको व्यापार
नेपालमा कडा कानुनी व्यवस्था भए पनि केही स्थानमा दाह्रा तथा अन्य अंगको अवैध व्यापारको जोखिम अझै विद्यमान छ।
६. पूर्वाधार विकास
द्रुतमार्ग, रेलमार्ग, नहर तथा उच्च भोल्टेज प्रसारण लाइनहरूले हात्तीको प्राकृतिक आवागमनमा अवरोध सिर्जना गरिरहेका छन्। वैज्ञानिक अध्ययनबिना पूर्वाधार निर्माण हुँदा दुर्घटनाको सम्भावना बढ्छ।
हात्ती संरक्षणका प्रयासहरू
नेपाल सरकारले तथा विभिन्न संरक्षण साझेदार संस्थाहरूले हात्ती संरक्षणका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
१. संरक्षित क्षेत्रको स्थापना
चितवन, पर्सा, बर्दिया, बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूले हात्तीको मुख्य बासस्थान सुरक्षित गरेका छन्।
२. जैविक मार्ग (Biological Corridor) संरक्षण
वन क्षेत्रहरूलाई आपसमा जोड्ने जैविक मार्ग संरक्षण गरेर हात्तीको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रयास भइरहेको छ।
३. मानव–हात्ती द्वन्द्व न्यूनीकरण
सौर्य विद्युतीय बार, सामुदायिक गस्ती, प्रारम्भिक सूचना प्रणाली, हात्तीले मन नपराउने खालको जडिबुटी खेती तथा मौरीको प्रयोग, राहतको व्यवस्था र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्।पछिल्लो चरणमा खेतीबाली र घर गोठ बीमा लागु गरिएको छ। हालै वन्यजन्तु जोखिम केन्द्रित बीमालेख योजना शुरु भएको छ।
४. सामुदायिक वनको भूमिका
नेपालका हजारौँ सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण, अवैध गतिविधि नियन्त्रण तथा हात्तीको बासस्थान सुधारमा महत्वपूर्ण योगदान दिएका छन्।
५. वैज्ञानिक अनुसन्धान
GPS Collar, Camera Trap, DNA Analysis तथा GIS प्रविधिको प्रयोगबाट हात्तीको वितरण, आवागमन, आनुवंशिक अवस्था तथा जनसंख्या अध्ययन गरिँदै आएको छ।
६. नेपाल–भारत सहकार्य
सीमापार वन्यजन्तु व्यवस्थापन, सूचना आदानप्रदान तथा संयुक्त संरक्षण कार्यक्रममार्फत हात्तीको दीर्घकालीन संरक्षणमा सहकार्य भइरहेको छ।
७. कानुनी संरक्षण
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, वन ऐन, जैविक विविधता सम्बन्धी नीति तथा अन्तर्राष्ट्रिय महासन्धिहरूले हात्ती संरक्षणलाई कानुनी आधार प्रदान गरेका छन्।
भविष्यका लागि आवश्यक रणनीतिहरू
भविष्यमा हात्ती संरक्षण प्रभावकारी बनाउन वैज्ञानिक तथा समुदायमैत्री दृष्टिकोण आवश्यक छ। नियमित राष्ट्रिय जनगणना, हात्ती करिडोरको कानुनी संरक्षण, पूर्वाधार निर्माणअघि वातावरणीय प्रभाव मूल्याङ्कन, सीमापार सहकार्य सुदृढीकरण, द्वन्द्व न्यूनीकरण प्रविधिको विस्तार, स्थानीय समुदायको सहभागिता तथा जलवायु परिवर्तन अनुकूल व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ। संरक्षण कार्यक्रमसँग स्थानीयको जीविकोपार्जन जोड्न सके संरक्षणप्रतिको सकारात्मक भावना अझ बलियो हुनेछ।
निष्कर्ष
हात्ती केवल एउटा विशाल वन्यजन्तु मात्र होइन, सम्पूर्ण वन पारिस्थितिकीय प्रणालीको सन्तुलन कायम राख्ने आधारभूत प्रजाति हो। यसको उपस्थितिले वनको पुनर्जनन, जैविक विविधताको संरक्षण तथा प्राकृतिक स्रोतहरूको दीर्घकालीन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दछ। नेपालमा एसियाली हात्तीको संख्या विगतको तुलनामा केही बढेको अनुमान गरिए पनि बासस्थान विनाश, मानवहात्ती द्वन्द्व, पूर्वाधार विस्तार तथा जलवायु परिवर्तनका कारण यसको भविष्य अझै चुनौतीपूर्ण छ।
वैज्ञानिक अनुसन्धान, प्रभावकारी नीति, स्थानीय समुदायको सक्रिय सहभागिता, सीमापार सहकार्य तथा आधुनिक संरक्षण प्रविधिको समन्वित प्रयोगबाट मात्र एसियाली हात्तीको दीर्घकालीन संरक्षण सम्भव हुनेछ। हात्तीको संरक्षण भनेको एउटा प्रजातिको मात्र संरक्षण नभई नेपालको वन, जैविक विविधता, प्राकृतिक सम्पदा तथा भावी पुस्ताको पर्यावरणीय सुरक्षाको संरक्षण पनि हो।
लेखक = बर्दिया राष्ट्रिय निकुन्जका पुर्व
प्रमुख संरक्षण अधिकृत
रमेश थापा