२१ साउन काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानीकर्ताहरूलाई प्रतियोगिताहरूको स्वामित्वको हिस्सा बिक्री गर्ने विवादास्पद योजनाहरूमा आफूले गरेका त्रुटिहरूका लागि माफी मागेका छन् । तर, मोरक्कोमा भएको बैठकमा वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेपछि उनी फिफाको अध्यक्ष पदमा भने अब कायम नै रहने छन् ।आफ्ना रद्द गरिएका प्रस्तावहरूमाथि बढ्दो आलोचनापछि इन्फान्टिनोले बुधबार रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा व्यवस्थापन बोर्डका सदस्यहरूलाई बोलाएका थिए ।
बैठक सकिएको चार घण्टापछि विश्व फुटबलको प्रशासकीय निकायले समर्थन जनाउँदै विज्ञप्ति जारी गरेर उनी पदमा यथावत रहेको जानकारी दिएको हो ।युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले सप्ताहन्तमा इन्फान्टिनो प्रति आफ्नो विश्वास गुमेको बताएको थियो र ‘फिफा फर्वार्ड इन्टरप्राइज, एफएफइ’ प्रस्तावलाई कमसल, गोप्य र पारदर्शी नभएको सम्झौता भनी टिप्पणी गरेपछि इन्फान्टिनो आलोचनाको तीव्र शिकारमा परेका थिए ।