२० साउन बाँके । हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको काण्डमा तत्कालिन इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक डीएसपी लक्ष्मी खनालमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।डीएसपी खनाल इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख रहेका बेला गत भदौमा कालीकोट निवासी ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको हिरासतमा रहेको अवस्थामा मृत्यु भएको थियो।सिंह ज्यान मार्ने मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए। पक्राउ परेको तीन दिनमै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार, छानबिनका क्रममा प्रहरीको कमजोरीका कारण सिंहको मृत्यु भएको निष्कर्ष निकालिएको छ। त्यसपछि तत्कालीन डीएसपी खनालसहित हिरासत कक्षमा कार्यरत प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको हो।एक प्रहरी अधिकारीका अनुसार, हिरासतमा राखिएको व्यक्तिको मृत्यु हुनु आफैँमा गम्भीर विषय भएकाले त्यसको जिम्मेवारी सम्बन्धित प्रहरी अधिकारीले लिनुपर्ने हुन्छ।