११ साउन काठमाडौं । एउटा भेटघाटका क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गाँउ सारे भैहाल्यो नि भन्ने अभिव्यक्ति दिएका छन । सार्वजनिक कार्यक्रममा पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आलोचित हुँदै आएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल फेरि अर्को टिप्पणीका कारण चर्चामा आएका छन् ।सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले जोखिममा रहेको बस्तीबारे दिएको ‘गाउँ सारे भइहाल्यो नि’ भन्ने अभिव्यक्तिमाथि स्थानीय तथा सरोकारवालाले प्रश्न उठाएका छन् ।
शनिबार बीपी राजमार्ग हुँदै नेपाल–चीन जोड्ने कोदारी राजमार्गको निरीक्षणका क्रममा मन्त्री लम्साल भोटेकोशी गाउँपालिका–५ डाक्लाङ पुगेका थिए । स्थानीयले वर्षेनी आउने पहिरोका कारण माथिल्लो पन्थली बस्ती उच्च जोखिममा रहेको र दीर्घकालीन समाधान आवश्यक रहेको जानकारी गराए ।स्थानीयको गुनासो सुनेपछि मन्त्री लम्सालले ‘गाउँ सार्नुपर्ने स्थिति छ ’ भनेर सोधे । स्थानीयले ‘सार्नुपर्छ’ भनेपछि उनले ‘गाउँ सारे भइहाल्यो नि गाउँ सारेर बाटो खन्ने नि ’ भन्ने प्रतिक्रिया दिएका थिए ।