शनिबार , १६ अषाढ२०८०
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताएका छन्।शनिबार दिउँसो पोखरामा प्रेस सेन्टर द्वारा आयोजित सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
उनले अनुसन्धान नरोकिने बताएका छन । भ्रष्टाचार देशको विकराल समस्या भएको बताउँदै यसका अनुसन्धान थप बढाउने उनले बताए।‘भ्रष्टाचार देशको विकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ,’ उनले भने, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ। यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ।’
उनले अर्थतन्त्र पनि विस्तारै लयमा फर्किएको बताए। ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ,’ उनले भने, ‘राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्।
एक अर्को प्रसङ्गमा चिन भ्रमणको पनि तयारी भइरहेको उनले बताएका छन्।‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु। छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ। त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ,’ उनले भने।
यस्तै वैदेशिक रोजगारिमा बाहिर गएकाहरुको प्रसङ्गमा ‘यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौं। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगेका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस छ,’ उनले भने, ‘विदेशमा रहेका लाखौं नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौं, यसको दूरगामी अर्थ छ।’
उनले भ्रस्टाचार बिरुद्ध फरक लडाई गरिरहेको र जनताको साथ पाउनेमा पूरा भरोसा गरेको बताए ।