आइतबार , १० अषाढ २०८०
काठमाडौं
पशुपतिनाथ मन्दिरमा छानबिन हुने भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो । अख्तियारको टोली साढे ३ बजे मन्दिरमा आउने स्रोतको भनाइ छ ।
अख्तियारको टोलीले जलहरीको तौल लिनेछ । पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएको छ ।सुनको जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप छ ।
सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ गा्रम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो ।
यता महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको बताएको छ । जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैैयाँ हिनामिना भएको महालेखाको आशंका छ । जलहरी बारे संसद र बाहिर निकै चर्चा भए संगै छानबिन थालिएको हो ।