शुद्धीकरण अभियानको नाममा महासंघ कब्जामा लिने षड्यन्त्र- बिबादास्पद निर्णय अमान्य

शुद्धीकरण अभियानको नाममा महासंघ कब्जामा लिने षड्यन्त्र- बिबादास्पद निर्णय अमान्य

मंगलबार, ५ जेष्ठ २०८०

एसपी यादव/काठमाडौ,

नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शुद्धीकरण अभियानको नाममा मनोमानी र बिबादास्पद निर्णय गर्दै कार्यदल लगायतका केहि व्यक्तिहरुले सर्लाही शाखा नै आफ्नो कब्जामा लिने षड्यन्त्र गरेका छन् ।

शुद्धीकरणको नाममा कार्यदलले आफु निकटका सदस्यहरुको नाम सिफारिस गरेको र बाकी सदस्यहरुको नाम सिफारिस नगरेको पाइएको छ । पुर्वाग्राही र व्यक्ति विषेशको पछि लागेर गरिएको यो बिबादास्पद निर्णय कदापि मान्य नहुने शाखाका अन्य सदस्यहरुले बताएका छन् । विशुद्ध सञ्चार क्षेत्रमा क्रियाशिल भएर काम गरिरहेको र कुनै लाभको पदमा समेत नरहेका सदस्यहरुको पनि नाम कार्यदलले हटाएपछि सो बिबादास्पद निर्णयलाई लिएर सर्लाही शाखामा ठुलो विवाद भएको छ । सदस्यता शुद्धिकरण अभियानको नाममा कार्यदलले सर्लाही शाखामा आवद्ध रहेका आधी भन्दा बढी सक्रिय सदस्य पत्रकारहरुको नाम हटाउने बिबादास्पद निर्णय गरेको छ ।

तिन सदस्यीय कार्यदलमा कार्यदलकै एक सदस्य शंकर श्रेष्ठ १० वर्षदेखि निरन्तर निष्क्रिय रहदै आएको कुरा जग जाहेर छ । यसरी १० वर्षदेखि निरन्तर निष्क्रिय रहदै आएको सदस्य शंकर श्रेष्ठलाई कार्यदलमा राखिनु शाखाका अध्यक्ष टंक क्षेत्रीको नियतमा खोट भएको र अध्यक्ष क्षेत्री पर्दा पछाडीको खलनायक समेत रहेकोे जिल्लाका पत्रकारहरुले बताएका छन् । महासंघलाई आफ्नो निजी सम्पत्तिको रुपमा केहि व्यक्तिले प्रयोग गर्न खोजेकोले यसको परिणाम दुर्भाग्यपूर्ण हुने र बिबादास्पद निर्णयलाई कार्यदलले तत्काल नसच्याए क्रियाशिल सदस्यहरु चुप लागेर नबस्ने र विरोधका कार्यक्रमहरुलाई जोड्दार रुपले अगाडी बढाउने बताएका छन् ।

कार्यदलले आसेपासेहरुको नाममात्रै सिफारिस गरेको भन्दै जिल्लाका सक्रिय सदस्यहरुले असन्तुष्टी जनाएका छन् । महासंघको सदस्यता सुद्धीकरण मापदण्ड विपरीत निष्क्रिय सदस्यहरु र २०७९ को स्थानीय निर्वाचनमा उम्मेदवारी दिएकाको पनि नाम नवीकरणका लागि सिफारिस गर्नु कार्यदल नै ठुलो शंकाको घेरामा परेको सदस्यहरुले जनाएका छन् ।