३० बैशाख , काठमाडौं – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ ।
पछिल्ला दशकमा भएका बाइडबडी खरिद, लडाकु सिबिरमा भएको भनियको अनियमितता ,बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्डका नाममा चर्चित कोराना महामारीका समयमा औषधि खरिदमा भएको घोटाला प्रकरण, सार्वजनिक जमिन भाडामा दिँदा भएका अनियमितताबारे छानबिनको तयारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सबैखाले भ्रष्टाचारका फाइल खोलिने बताए ।
रास्ट्रिय सभा सदस्य तथा युवा नेता जग प्रसाद शर्मा अपारले एक कार्यक्रममा बोल्दै भने ‘आफ्ना नेता भ्रष्टाचार र राज्यद्रोहको अपराधमा मुछिएकाले उनीहरुलाई चोख्याउन केपी ओलीले अरु प्रकरणको कुरा गर्नुभएको सबैले बुझेकै कुरा छ ।’ शर्माले भ्रष्टाचार मुलुकको मुल रोग भएको र भ्रष्टाचारीलाई कारबाही गरेपछि सरकारको समर्थनमा नागरिकहरु स्वतः स्फुर्त रुपमा सडकमा आएको उल्लेख गरे ।
पछिल्लो समयमा सरकारले थालेको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समर्थनमा आम नागरिक सकारात्मक भएको बुझिएको छ ।