२९ बैशाख काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ । नयाँ स्टक एक्सचेन्जका लागि नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स सुम्पिन खोजिएको भन्दै तीव्र विरोध भए पछि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि प्रक्रिया अघि नबढाउन निर्देशन दिएका हुन् ।
नयाँ स्टक एक्सचेन्ज पुरानो र सरकारी एक्सचेन्ज विस्थापित गर्ने गरी ल्याइएको गलत नीति भन्दै संसद्मा नै विरोध उठेको थियो । योसँगै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय अभ्यास र गहन छलफल विपरीत ल्याउन लागिएको नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको छ ।
प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएर लाइसेन्स प्रक्रिया तत्काल रोक्न लिखित रूपमा नै निर्देशन दिएका हुन् । संसद भित्र र बाहिर तिब्र बिरोध हुन थाले पछि प्रधानमन्त्री मन्त्री यो प्रक्रिया रोक्न सकृय भएका हुन ।