बुधबार, २७ असार, २०८०,
काठमाडौं,
अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको हो
विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोगमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो ।
उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।