वन एक्स बेटको प्रचार गरेको आरोप लागेका कलाकारहरु ५ हजार धरौटीमा रिहा

वन एक्स बेटको प्रचार गरेको आरोप लागेका कलाकारहरु ५ हजार धरौटीमा रिहा

बुधबार, २७ असार, २०८०,

काठमाडौं,

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको हो

विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोगमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो ।

उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।