नगर प्रमुखले दुर्व्यवहार गरेको भन्दै मिर्चैयामा स्थानियको प्रदर्शन

51Shares
नगर प्रमुखले दुर्व्यवहार गरेको भन्दै मिर्चैयामा स्थानियको प्रदर्शन

सोमबार, २५ असार, २०८०,

काठमाडौं,

मिर्चैया नगरपालिकाका प्रमुखले बाटोमा दुर्व्यवहार गरेको भन्दै सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरिएको छ ।

नगरपालिकाले घर भत्काएपछि जानकारी गराउन जिल्ला प्रशासन कार्यालय पुगेका पीडित पक्षलाई नगर प्रमुखले बाटोमा दुर्व्यवहार गरेकाले प्रदर्शन गरेको स्थानिय प्रदर्शनकारीहरुले नयाँ शिरालाई जानकारी दिए ।

प्रदर्शनका कारण राजमार्ग अवरुद्ध भएको छ । बिहान १० बजेबाट गरिएको राजमार्ग अवरुद्धका कारण लामो तथा छोटो दुरीका सवारीसाधन पूर्वतर्फ चोहर्वामा रोकिएका छन् । पश्चिमतर्फ भने मिर्चैया नजिक पुलमा रोकिएको छ ।

मिर्चैया नगरपालिकाले साबिक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ र २ (क) कित्ता नम्बर ६० को जग्गामा बनेका संरचना नेपाल सरकारको जग्गामा रहेको भन्दै करिब ३७ घर माघ २७, फागुन ११ र १९ गते तोडफोड गरी भत्काएको थियो । कित्ता नम्बर २५६ र ६० अहिले नगरपालिकाको ५ नम्बर वडामा पर्छ । नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको कदमले बेघर बनेको, व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको लगायतका पीडितहरूको गुनासो छ ।

गत चैत २७ गतेदेखि संघर्षमा उत्रिएका उनीहरुले बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपूर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्ने लगायत माग गर्दै आएका छन् ।