शनिबार, २३ असार, २०८०,
काठमाडौं,
कवानपुरको मनहरीस्थित नयाँबस्तीमा भएको सवारी दुर्घटनामा आगलागी हुँदा ५ जना घाइते मध्ये तीन मृत्यु भएको छ ।
गएराति १ः४५ बजे मनहरी–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व–पश्चिम राजमार्गमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ना ६ ख ६३१ नम्बरको ट्रक आपसमा ठोक्किँदा आगलागी भएको थियो । दुवै ट्रकमा आगलागी हुँदा पाँच जना घाइते भएका थिए ।
मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, गोरखाको गण्डकी गाउँपालिका गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र मकवानपुरको मनहरी–३ का २० वर्षीय अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
उनीहरू ट्रकका चालक र सहचालक हुन् । ट्रकमुनि च्यापिएका उनीहरूको उद्धार गर्दागर्दै ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा चितवनको राप्ती नगरपालिका–३ का ३५ वर्षीय विवेक तामाङ र मनहरी ३ का ३२ वर्षीय अर्जुनकुमार प्रजा घाइते भएका छन् । उनीहरूको भरतपुरमा उपचार भइरहेको छ।
आगो भने दमकलको सहायताले निभाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।