एलओडीबाट ललितपुरमा लगेर नाबालिका बलत्कार, अनुसन्धान जारी

774Shares
एलओडीबाट ललितपुरमा लगेर नाबालिका बलत्कार, अनुसन्धान जारी

बिहिबार, २१ असार, २०८०,

काठमाडौं,

ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब गएकी एक जना नाबालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला ३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

३१ जेठमा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी परेपछि कोइरालालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । बयानका क्रममा उनले पीडित उमेर पुगेको युवती भएको दाबी गरेका थिए । ‘उमेर नपुगेको केटीले क्लबमा प्रवेश नै पाउँदैन, त्यसैले ऊ नाबालिग होइन’, कोइरालाको बयान छ ।

उनको यो बयानपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याएको छ । नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि अनुसन्धान थालेको हो ।

उनीहरुविरुद्ध जिल्ला अदालत, ललितपुरबाट पक्राउ पूर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ ।