बुधबार, २० असार, २०८०,
काठमाडौं,
प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिबारे संसद्मा जवाफ माग्ने र जवाफ प्रस्ट नपारेसम्म संसद् चल्न नदिने भएको छ ।
नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए । दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।
एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को अपमान भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ’प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक छ । यो संसद्माथिकै अपमान हो । उहाँको अभिव्यक्ति जनादेशको प्रतिकूल हुनेगरी आएको छ । प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्छ । इमान्दारिता र नैतकिता हुन्छ भने उहाँले राजीनामासम्म दिनुपर्छ ।’
प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची रहेको छ । बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ’मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० माथिको दवाफार छलफल सदनमा गरियोस्’ भनेर प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री दाहाल पटक–पटक अभिव्यक्तिका कारण विवादमा आउने गरेका छन् । पछिल्लो समय फेरि नेपालमा सरकार बन्ने कुरा दिल्लीमा निर्भर हुने सन्देश जाने अभिव्यक्ति दिएपछि उनी विवादमा आएका हुन् ।