एसईई को नतिजा पुरानै व्यवस्था अनुसार सार्वजनिक गरिने

एसईई को नतिजा पुरानै व्यवस्था अनुसार सार्वजनिक गरिने

मंगलबार, १९ असार, २०८०,

काठमाडौं,

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा पुरानै व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । उनका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक हुने छ ।

एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने योजना रहेको उनले बताए । प्राविधिक कारण बिहीबार प्रकाशन हुन नसके शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ ।

नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ ।

कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको छ । अर्को वर्षदेखि एसईईमा पनि नयाँ व्यवस्था लागू हुने अध्यक्ष शर्माको भनाइ छ ।

विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र प्रविष्ट गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार ३९६ जना विद्यार्थी सहभागी भएका थिए ।