शुक्रवार, ८ असार, २०८०
काठमाडौं,
गोरखाको सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको प्रदेश नंं. ३, ०१–०२३ च २४२७ नम्बरको जिप दुर्घटना भएको हो ।
प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उनले भने, ‘आज बिहान ५ बजे मैले अपडेट लिँदा प्रहरीले पाँच जनाको शव भेटिएको छ भनेर भनेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।’ घाइते १२ जनालाई भने आबुखैरेनी अस्पताल पुर्याइएकोको छ
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।
कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।