मंगलवार, ५ असार, २०८०
सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।
मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको निधन भएको जानकारी दिइन् । उनका अनुसार मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको हो ।
मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । दुर्घटनापछि मन्त्री सिंहलाई उपचारका लागी बाँकेको कोहलपुर ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।