उपप्राध्यापक प्रेमबहादुर चलाउने आमरण अनसनमा

786Shares
उपप्राध्यापक प्रेमबहादुर चलाउने आमरण अनसनमा

मंगलवार, ५ असार, २०८०

काठमाडौं,

सरकारले सांघातिक हमलामा मुद्दा फिर्ता लिएको विरोधमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउने आमरण अनशनमा बसेका छन् ।

उपप्राध्यापक चलाउनेले विश्वविद्यालयस्थित भिसी (उपकुलपति) कार्यालयमा सोमबार साँझ साढे पाँच बजेबाट आमरण अनशन सुरु गरेका हुन् ।

सरकारले नै न्यायको ढोका बन्द गरेपछि आमरण अनशनमा उत्रिनुपरेको उपप्राध्यापक चलाउनेले बताए ।

चलाउने धर्ना दिन जिल्ला अदालत काठमाडौं परिसर पुगेका थिए । उनलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सिंहदरबार पु¥याएको थियो । दुई घन्टा नियन्त्रणमा लिएपछि उनलाई प्रहरीले छोडेको थियो । त्यसलगत्तै उनी अनशन बस्न उपकुलपति कार्यालय पुगेका थिए ।

सरकारले गत बिहीबार हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो । उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा विश्वविद्यालयस्थित नेपाल विद्यार्थी संघका अध्यक्ष हरिप्रसाद आचार्य र योगेन्द्र रावलको योजनामा विश्वविद्यालयपरिसरमै हमला भएको थियो । हमलामा रूपेश साह, नीरज रानामागर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा संलग्न थिए ।

उनलाई बाँसका भाटाले टाउको, शरीर, हात, खुट्टामा निर्ममतापूर्वक प्रहार गरिएको थियो । घटनामा उनको खुट्टा, ढाड र करङ भाँचिएका थिए भने उनको टाउकोमा पनि गम्भीर चोट लागेको थियो । करिब ६ महिनाको गम्भीर उपचारपछि मात्रै उनी नियमित काममा फर्किन सकेका थिए ।