सोमवार, जेठ २९, २०८०
काठमाडौं,
१८ जेठदेखि मनसुन अवधि सुरु हुने भनिए पनि नेपालमा औसतमा ३० जेठ सम्म मनसुन भित्रिसक्नुपर्ने हो मौसम विदका अनुसार गत वर्ष एक साताअघि नै मनसुन भित्रिएको थियो । तर, यसपालिको मनसुन ढिला सुरु हुने र मनसुनमा औसतभन्दा कम पानी पर्ने आकलन गरिएको छ ।
मौसम विभागले यसअघि बर्खायाममा पूर्व र मध्यनेपालका केही क्षेत्रबाहेकमा कम वर्षा हुने प्रक्षेपण गरेको थियो तर प्रशान्त महासागरमा एलनिनोको अवस्था देखिएको र पछिल्लो समयमा पूर्वानुमानका मोडलमा पनि सुक्खाको अवस्था देखाएकाले २५ जेठमा संशोधन गर्दै मुलुकभर नै औसतभन्दा कम पानी पर्ने आकलन गरेको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले नयाँ शिरालाई बताइन् ।
उनका अनुसार देशभर रहेका २५८ वर्षा मापन केन्द्रमध्ये पछिल्लो २४ घन्टामा ५७ वटामा वर्षा रेकर्ड भएको छ । जसमध्ये सबैभन्दा बढी दोलखामा ७४.४ मिलिमिटर वर्षा भएको छ । आइतबार राति काठमाडौं उपत्यका, मकवानपुरलगायतका क्षेत्रमा वर्षा हल्का भएको छ ।
सोमबार कोसी, बागमती र गण्डकीका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको वायुमण्डलमा जलवाष्पयुक्त हावा पनि प्रवेश गरेकाले पूर्वी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । तर, तत्काल ठूलो वर्षाको सम्भावना देखिदैन । त्यसैले तराइको तापक्रम घट्न नसकेको र आगामी पाँच दिन मध्य र पश्चिममा तापक्रम बढिरहने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।