पालिकाका अध्यक्षका छोराले कर्मचारी ‘कुटे’, झिमरुक गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

51Shares
पालिकाका अध्यक्षका छोराले कर्मचारी ‘कुटे’, झिमरुक गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

बिहिवार, २५ जेठ, २०८०

काठमाडौं,

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ ।

मिलनले योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीलाई भुक्तानी दिन भन्दै अपशब्द बोलेर हातपात गरेको कर्मचारीहरूले आरोप लगाएका छन् । उनी पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा आएका थिए ।

प्रमुख प्रशासकीय अधिकृतलाई सबै शाखाका कर्मचारी जम्मा भएर उक्त विषय जानकारी गराउने क्रममा समेत एमसीले टेलबमा पैसा फ्याँक्दै अश्लील गाली गरेको कर्मचारीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ । एमसीले आफू माओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष रहेको भन्दै धम्की पनि दिएको त्याहाँका एक कर्मचारीले जानकारी दिए ।

कारबाही नभएसम्म झिमरुक गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा प्रवाह अनिश्चितकालका लागि बन्द हुने कर्मचारीहरूले जनाएका छन् ।
कर्मचारीहरूले मिलन एमसीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आग्रह गरेका छन् ।