कोशी प्रदेश सरकार छाड्दै माओवादी

60Shares
कोशी प्रदेश सरकार छाड्दै माओवादी

मंगलवार, २३ जेठ, २०८०

काठमाडाैं,

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ । संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।

सोमबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।

कोशी प्रदेश सभाका माओवादीका एक नेताले, आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको पहल अघि बढाउने निर्णय भएको जानकारी दिए । उनले भने ‘माथिबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्देशन आएकोले, आज त्यसलाई हामीले औपचारिकता दिँदैछौं ।’

माओवादीले समर्थन फिर्ता लिए मुख्य मन्त्री हिक्मत कुमार कार्कीले सरकार गुमाउनेछन् । नेकपा एमालेका कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।

माओवादीले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगावै सरकार छाड्ने निर्णय गर्न लागेको हो । माओवादी केन्द्रमा नीति तथा कार्यक्रम ल्यायपछि कि ल्याउनु अगाडि नै सरकार छोड्ने भन्ने विषयमा बहस हुँदै आएको थियो ।

नेपाली कांग्रेसले सरकारबाट बाहिरिन र केन्द्रको गठबन्धन अनुसार अघि बढ्न आग्रह गर्दै माओवादीलाई ५ जेठमा पत्र पठाएको थियो । नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन र केन्द्रको सत्ता गठबन्धन अनुसार अघि बढ्न माओवादीलाई दबाव दिँदै आएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४०, माओवादीका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जनाको समर्थन कायम छ । यो भनेको प्रदेशसभाको प्रष्ट बहुमत हो ।

अहिले विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद मात्रै छन् । माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् । एमाले र राप्रपाको सिट संख्याले मात्रै प्रदेशसभाको बहुमत नपुग्ने भएकाले उनले विश्वासको मत लिनुपर्ने अवस्था आउने छ ।