प्रहरीका उच्च तहका अधिकारी बाटै यौन दुर्व्यवहार

प्रहरीका उच्च तहका अधिकारी बाटै यौन दुर्व्यवहार

सोमवार, २२ जेठ, २०८०

काठमाडाैं,

कानुन कार्यान्वयन गर्ने गराउनका लागि सवैभन्दा धेरै भुमिका खेल्ने नेपाल प्रहरीका उच्च तहका अधिकारीले आफ्नै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका छन् ।

महेन्द्रनगरस्थित नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी योगबहादुर पालले गत शुक्रबार सहायक हवल्दारमाथि दुर्व्यवहार गरेका हुन् । घटनापछि उनलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ, तर यति संवेदनशील विषयमा पनि कानुनी प्रक्रिया अझै अघि बढाइएको छैन ।

अपराधजन्य गतिविधि गर्ने ती अधिकारीलाई सामान्य विभागीय कारबाही मात्र गरेर जोगाउने चलखेल प्रहरीभित्र भइरहेको स्रोतले जनाएको छ ।

पीडित महिला प्रहरीको उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर अध्ययन गरिरहेको छ । तर, उनीविरुद्ध जाहेरी दर्ता गर्ने कानुनी प्रक्रिया भने सुरु भएको छैन ।

घटनाभएकोे तीन दिन हुँदासम्म पनि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बनको प्रक्रियासमेत सुरु गरेको छैन भने एसएसपीभन्दा तल्लो तहका अधिकृतको नेतृत्वमा छानबिन टोली गठन गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट छानबिन तथा कारबाहीको प्रक्रिया नै सुरु नभएको र पीडित महिला प्रहरीलाई समेत जाहेरी नदिन दबाब दिन थालेको स्रोत बताउँछन् । एसएसपी पाललाई केही विषयमा बुझ्नका लागि भनेर प्रहरी प्रधान कार्यालय तानिएको, तर घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।