बिहिवार, १८ जेठ, २०८०,
लमजुङ कारागारबाट १ जना कैदी र १ जना थुनुवा फरार भएका छन् । बिहीबार बिहान साँढे १ बजेतिर कारागारको पर्खाल नाघेर दुवै जना फरार भएको प्रहरीले बताएको छ ।
फरार हुनेमा जबर्जस्ती करणी मुद्दामा २०७९ साउन २४ गते पुर्पक्षका लागि कारागार चलान भई ४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएका गोरखाका मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेका २७ वर्षीय विनोद विक र ठगी मुद्दामा २०८० वैशाख ३१ गते मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका गोरखाकै चुमनुब्री गाउँपालिका ३, घट्टेखोला घर भई हाल पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङ छन् ।
विनोद विकलाई जिल्ला अदालत लमजुङले २०७९ चैत १ गते ४ वर्ष कैद र ४ लाख जरिवाना सुनाएको थियो ।
रातको समयमा पर्खाल चढेर हाम फाल्दै भागेको सीसीटीभीमा देखिएकोे प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले भने।
जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीर्मलका अनुसार कैदीबन्दीले बुनेको मुढामाथि मुढा राखेर पर्खाल पार गरी उनीहरू फरार भएका हुन् । पर्खालको दायाँबायाँ चौबिसै घण्टा प्रहरीको ड्युटी भए पनि रातको समयमा प्रहरीलाई समेत छलेर कैदी र थुनुवा भागेका हुन् ।
उनीहरूले आफूले लगाएको लुगाफाटासमेत फुकालेर भागेको र फरार २ जनाको खोजीकार्य भइरहेको प्रहरी स्रोतले बताएको छ ।