प्रचण्डले उठाए भारतमा नक्साको बहस

33Shares
प्रचण्डले उठाए भारतमा नक्साको बहस

बिहिवार, १८ जेठ, २०८०,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा भारतको नव निर्मित संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे चासो राखेका छन् ।

बुधबार आफूलाई भेट्न आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग प्रधानमन्त्री प्रचण्डले नक्सामा नेपाली भूमि समेटिएकोबारे प्राथमिकता दिदैँ चासो राखेका थिए ।

नेपाली भूमि कपिलवस्तु र लुम्बिनीलगायतका क्षेत्र समेत समेटेर भारतले उक्त नक्सा आफ्नो संसद्मा राखेको थियो जसका कारण नेपालमा चौतर्फी विरोध भइरहेको छ । नेपाली जनताले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो भारत भ्रमणका बेला सो नक्साबारे भारतीय पक्षसँग छलफल गर्न र हटाउन आग्रह गर्न दबाब दिँदै आएका छन् ।

डोभाल र क्वात्रासँगको अनौपचारिक कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नक्साबारे चासो व्यक्त गर्दा भारतीय पक्षले नक्सालाई राजनीतिक रूपमा नभई सांस्कृतिक रूपमा मात्रै बुझ्न आग्रह गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले भारतले राखेको नक्सापछि नेपालको संसद्मा पनि ग्रेटर नेपालको नक्सा राख्ने चर्चा सुरु भएको बताएका थिए । ‘भारतले जसरी हामीले पनि ग्रेटर नेपालको नक्सा राखे के हुन्छ ?,’ प्रधानमन्त्रीको प्रश्न थियो । त्यसपछि दुई पक्षबीच दुई देशबीचको सम्वबन्धका अन्य आयामबारे समेत कुराकानी भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ चार दिने भारत भ्रमणमा छन् ।