बिहिवार, १८ जेठ, २०८०,
काठमाडाैं,
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज भेटवार्ता हुँदै छ । चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबिच बिहान ११ः०५ बजे हैदरावाद हाउसमा भेटवार्ता हुने तय भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबिच नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा छलफल हुने बताइएको छ ।
उहाँहरूबिच आधा घण्टा एक्ला एक्लै छलफल गरेपछि प्रतिनिधिमण्डल स्तरीय छलफल गर्ने तयारी छ
भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबिच सिलीगुडी चारआली पेट्रोलियम पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण तथा अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति गर्ने तयारी छ ।
आजै केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना गरी दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसपछि ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग अपराह्न साढे चार बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट र साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।