साेमबार ,१५ जेठ, २०८०,
काठमाडौं,
नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी आज बिहान जेलबाट छुटेका छन् ।
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि जेलबाट मुक्त भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।
रेशमलाई लिन उनका बुबा र आमा डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि नागरीक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।
रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो । २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।