आज १६औँ गणतन्त्र दिवस मनाइँदै

36Shares
आज १६औँ गणतन्त्र दिवस मनाइँदै

साेमबार ,१५ जेठ, २०८०,

काठमाडौं,

१६औँ गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट विं.सं. २०६५ जेठ १५ गते २४० वर्षे राजतन्त्रको विधिवत् अन्त्य भएको र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएको थियो ।
उक्त १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

विसं २०६३ जेठ ४ गते बसेको पुनसर््थापित संसद्ले राजसंस्थालाई निलम्बन गर्दै राजदरबारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गर्यो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।