प्रधानमन्त्री दाहालको भारत भ्रमण जेठ १७ देखि

प्रधानमन्त्री दाहालको भारत भ्रमण जेठ १७ देखि

विहिबार,जेठ ११, २०८०

काठमाडौँ ,

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका छन् । संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएपछि भ्रमणको तालिका वनेको हो ।
चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ  । परराष्ट्रमन्त्री एनपी साउदले भ्रमणको गृहकार्य भइरहेको जानकारी दिए ।
वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री दाहालको भ्रमण रोकिएको थियो । परराष्ट्रका अधिकारीहरूका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ मा नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । सोही दिन उनलाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । उक्त द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुनेछ । सोही दिन वा जेठ १९ मा प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ । जेठ १९ मै प्रधानमन्त्री दाहाल मुम्बई जाने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौं फर्कनेछन् ।
दुई मुलुकबीच भ्रमणका दौरान भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको प्रस्ताव, १३६ किलोमिटर काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), ई–वालेट, व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पर्यटन तथा सांस्कृतिक सम्बन्ध, जनस्तरलगायत विषयमा छलफल गर्ने गृहकार्य भइरहेको छ ।
दाहालले प्रधानमन्त्रीका रूपमा यसअघि दुई पटक भारत भ्रमण गरिसकेका छन् ।