आइतबार, ३१ असार, २०८०,
काठमाडौं,
सुदुरपश्चिम प्रदेश सरकारको बजेट बहुमत द्धारा पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट परित भएको हो । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०÷८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो ।
प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो । सत्तारुढ दलहरुले यथास्थितिमा बजेट पारित गर्न नमानेकाले ती विधेयकहरु संशोधनपछि पारित गरिएका हुन् ।
नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिष्कार गरेको थियो ।
राप्रपा सांसद खेमादेवी विष्टले पहिले बहिष्कार गर्ने घोषणा गरे पनि पछि सहभागी भएकी थिइन् । राति अबेर बसेको बैठकमा सहभागी हुँदै माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले सरकारले बजेट संशोधन गर्ने प्रतिबद्धता जनाएपछि पारित गर्न सहमत भएकाे थियाे ।
शनिबार दिउँसो सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट ५ करोड रुपैयाँ पु¥याउने, प्रदेशसभा सदस्यको बजेटमा रकम विनियोजन गर्ने लगायतका सहमति भएको थियो । उक्त सहमतिपछि मात्र सत्तारुढ दलहरु बजेट पारित गर्न तयार भएका हुन् ।