सरकारले धानको समर्थन मुल्य बढायो, रोपाई भने ४५ प्रतिशत मात्रै

सरकारले धानको समर्थन मुल्य बढायो, रोपाई भने ४५ प्रतिशत मात्रै

बिहिबार, २८ असार, २०८०,

काठमाडौं,

सरकारले यस वर्ष रोपाइँकै समयमा धानको समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

विगत वर्षहरूमा किसानको धान बिचौलियाले खरिद गरेपश्चात् मात्र समर्थन मूल्य तोक्दै आएको सरकारले यसपटक समयमै धानको समर्थन मूल्य तोेकेको हो ।

सरकारले यस वर्ष मोटा धानमा २ सय ३१ र मध्यम धानमा २ सय ३४ रुपैयाँ प्रतिक्विन्टल बढाएको छ । गत वर्ष सरकारले मोटा धानको दुई हजार नौ सय ६७ रुपैयाँ र मध्यम धानको तीन हजार एक सय २८ रुपैयाँ तोकेको थियो । यस वर्ष मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ र मोटा धानको तीन हजार एक सय ९८ रुपैयाँ तोकेको छ ।

यसपटक मौसम पूर्वअनुमान महाशाखाले पनि कम पानी पर्ने आकलन गरेको छ त्यसै कारण धानको उत्पादनमा धेरै नै गिरावट आउने आंकलन गरीएको छ । कृषि मन्त्रालयका अनुसार हालसम्म करिब ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कम पानी पर्ने र धान रोपाइँ नै कम हुने हुँदा उत्पादनमा ह्रास आउने अनुमान गरेर सरकारले किसानको धान सबै खरिद गर्ने लक्ष्य राखेको छ ।