५ मंसिर काठमाडौं । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न माग गरेका छन् । इमरानलाई उचित स्वास्थ्योपचार उपलब्ध गराउन र उनको हिरासतका विषयमा बढेको राजनीतिक तनाव कम गर्न सरकार तथा विपक्षी दलबीच विश्वास बहालीका कदम चाल्न टर्कले आग्रह गरेका छन् ।सीएनएनसँगको अन्तर्वार्तामा उनले इमरानको रिहाइ, उचित उपचार र राजनीतिक तनाव न्यूनीकरण आवश्यक रहेको बताएका हुन् ।इमरानका छोरा कासिम खानले पनि अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपका निम्ति अपिल गरेका छन् । उनले पाकिस्तानका सेना प्रमुख असिम मुनिरको नेतृत्वमाथि हत्या, अपहरण र यातनाका गम्भीर आरोप लगाएका छन् ।इमरान र उनकी पत्नी बुशरा बीबी रावलपिन्डीस्थित अदियाला जेलमा छन् ।
साउदी अरबका युवराजले औपचारिक भ्रमणका क्रममा उपहार दिएको बुल्गारी गहनाको सेट गैरकानुनी रूपमा आफूसँग राखेको आरोपसम्बन्धी तोसाखाना–२ मुद्दामा उनीहरूलाई सन् २०२५ डिसेम्बर २० मा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।इमरान सन् २०२३ अगस्टदेखि हिरासतमा छन् । उनी १९ करोड पाउन्डको भ्रष्टाचार मुद्दामा सजाय भोगिरहेका छन् । सन् २०२३ मे ९ को प्रदर्शनसँग सम्बन्धित आतंकवादविरोधी कानुनअन्तर्गतका मुद्दा समेत विचाराधीन छन् ।