किन दिपक भट्टलाई सिन्धुपाल्चोक कारागारमा लगियो

किन दिपक भट्टलाई  सिन्धुपाल्चोक कारागारमा लगियो

 १९ असोज काठमान्डौ । सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर लगायतका विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ।नख्खु कारागारमा राखिएका भट्टलाई शनिबार सिन्धुपाल्चोक कारागार पुर्‍याइएको थियो।गृह मातहत रहेको कारागार व्यवस्था विभाग र कारागार कार्यालय नख्खुले उनलाई सरूवा गर्नुको कारण भने खुलाएका छैनन्।नख्खुका जेलर दीर्घराज उपाध्यायले भट्टलाई आवश्यकता अनुसार सरूवा गरिएको बताए।उहाँलाई आवश्यकता अनुसार यहाँबाट सिन्धुपाल्चोक सरूवा गरिएको हो।

उहाँलाई शनिबार नै सिन्धुपाल्चोक पुर्‍याइएको थियो, उनले भने।नख्खु कारागार स्रोतका अनुसार भट्टले त्यहाँ केही सीमित व्यक्तिसँग मात्रै भेट गर्दै आएका थिए।उनले आफ्ना वकिल र परिवारका सदस्य बाहेकलाई भेट्ने गरेका थिएनन्। तर त्यसबाहेक अन्य कसैले भेट्न खोजे पनि नभेटेको कारागार स्रोतले बतायो।कारागार कार्यालयले कुनै पनि बन्दीलाई तीनवटा कारणले एक कारागारबाट अर्कोमा सरूवा गर्ने गर्छ।कारागार विभाग स्रोतका अनुसार पहिलो कारण सुरक्षा थ्रेट हो। असुरक्षा महसुस भए सम्बन्धित निकायले एक ठाउँबाट अर्को ठाउँ सरूवा गर्न सक्ने व्यवस्था छ।दोस्रो, ठाउँको अभावका कारण पनि सरूवा हुने गरेको छ। तर नेपालका कारागारमा क्षमताभन्दा बढी नै कैदीबन्दीहरू राखिने गरेका छन्।

तेस्रो, बन्दी स्वयंले अर्को कारागारमा सरूवा गरिपाऊँ भन्दै अनुरोध गरे पनि सरूवा गर्ने चलन छ।यसरी तीनवटा कारण भए पनि भट्टका हकमा के कस्तो कारणले सरूवा गरिएको हो भन्ने यकिन विवरण खुलेको छैन।यसैबीच, भट्टका बुबा चतुर्भुजले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।